05/01/2024
रिटायरमेन्टको लागि बचत र प्यासिभ आम्दानी बारे पनि सोच्ने कि ?
सामान्यतया हामी थेरैको ध्यान तत्कालको जागिर, पेसो,कमाई, सम्पति आदीमा मात्र केन्द्रित भएको हुन्छ,अहिलेको तलब एकदिन गएर रोकिन्छ भन्ने बिर्सिन्छौं । हाम्रो सोचाई नै अहिले कति कमाउने भन्नेमा र सम्पति कमाएपछि सबै आफै मिल्छ भन्ने तिर फोकस छ। तर अहिलेको तलब रोकिदाको अवस्थामा के गर्ने,कसरि प्यासिभ आम्दानी पनि ब्युल्टअप गर्दै जाने, पछि एकाएक भै रहेको सम्पतिलाई यता र उता गराउदा ट्याक्स संबन्धि असर पर्छ कि पर्दैन पर्छ भने कति पर्छ भन्ने कुरामा त्यति ध्यान दिइएको पाईदैन। प्यासिभ आम्दानी ऋण लिनको लागि बरोइङ्ग क्यापिसिटि बढाउन देखि लिएर प्रोपर्टीको प्रोटफोलियो बढाउन, दैनिक खर्च चलाउन र अझ बिशेष गरेर बुढेशकालमा आबस्यक पर्ने खर्चको लागि महत्वपुर्ण हुन्छ।
के हो यो प्यासिभ आम्दानी भनेको ?
सिधा भाषामा बुझ्दा आफुले खासै केहि नगर्दा, थोरै परिश्रम लगाउदा अर्थात सुतेको बेलामा पनि जुन आम्दानी आईरहेको हुन्छ त्यसलाई प्यासिभ आम्दानी भनिन्छ। जस्तै: प्रोपर्टीबाट आउने भाडा, शेअरहरु होल्ड गरे बापत आउने लाभांश, बैंकमा भएको पैसाको ब्याज, आफु एकदमै कम इन्भल्बहुदा पनि सेल्फरनिङ्ग बिजनेसबाट आउने नाफा आदि।
प्यासिभ आम्दानी किन महत्वपूर्ण छ त ?
मानिस दुइ किसिमले गरिब हुन्छ पहिलो पैसा वा सम्पति नै नभएर दोस्रो भएको सम्पतिलाई राम्रो संग उपयोग गर्न नजानेर वा नसकेर। मेरो एकजोडी अस्ट्रेलियन क्लाइन्टहरु हुनुहुन्छ उहाहरु दुवै जना उमेरले ७७ काटी सक्नु भएको छ राम्रो सबर्बमा दुइटा पुराना घरहरु छन, सबर्ब राम्रो भएकोले घर पुराना भएपनि राम्रै क्षेत्रफलमा बनेका ले दुइटा घरको मुल्यांकन लगभग ४ मिलियन अस्ट्रेलियन डलर छ। एउटा घरमा आफुहरु बस्नु भएको छ अर्को घर चाही सबर्ब राम्रो भएपनि घर जिर्ण भएकोले कहिले भाडामा जाने कहिले नजाने गए पनि बजारमा चलेको भन्दा कममा जाने र पुरानो घर भएकोले धेरैजसो भाडा मर्मत सम्भार मै खर्च हुने रहेछ, ल्याँण्ड ट्याक्स त कुनै बर्ष आफ्नै खल्ती बाट तिर्नु पर्ने पनि हुदो रहेछ। एकजना छोरा हुनु हुन्छ रे उहा अर्कै शहरमा आफ्नै सुरमा, बर्षमा फादर्स डे, मदर्स डे र क्रिस्मस डे मा चाही सम्पर्क हुन्छ रे। ट्याक्स सम्बन्धि सबैकुराहरु मैले आफैले हेरि रहेकोले उहाहरुको आर्थिक आन्द्राभुढी थाहा छ। उमेरछदा पैसा त कमाउनु भएछ दुइटा घर पे अफ पनि गर्नु भएछ तर क्यास पैसा पनि खासै धेरै राख्नु भएनछ, अरु लगानी डिभर्सिफिकेसन पनि गर्नु भएनछ। भाडाको घरबाट खासै आम्दानी नहुने र अरु रेगुलर क्यासफ्लो नभएकोले साच्चै भन्नु पर्दा ४ मिलियनको हाराहारीको सम्पति भएको जोडी अभाबकै जिन्दकी जिउनु भएको छ। गएको ७ बर्षदेखि उहाहरुलाई भएको सम्पति व्यबस्थित गर्न र प्यासिभ आम्दानी आउने ठाउमा लगानी गर्न आफुले जानेको सल्लाह दिदै आएको र फाइनान्सियल प्लानरहरु लाई समेत रिफर गर्दै आएको छु। हरेक बर्ष ट्याक्स रिटर्न गर्दा हुन्छ अब गर्छौ भनेर जानु हुन्छ तर आट नआएर हो वा तरिका मिलाउन नसकेर हो अबस्था जे थियो त्यहि छ। सरसर्ती बुझ्दा आफुबस्ने घर बेचेर सबैकुरा मिलाउन बर्षौ देखि बसेको घर भएकोले पर्सनल अटेच्मेंट छ रे त्यसो भएर मेडमले मान्नु भएन रे अर्को बेचौ भन्दा रिनोभेसन नगरी भनेको पैसा नआउने भो रे अनि रिनोभेसन गर्न पैसा छैन रे, त्यतिकै अड्किएको छ। यसो हेर्दा उहाहरु गरिब भएर बाच्ने र धनि भएर मर्ने स्थिति पो देखिन्छ।बुढापाकाहरु भन्ने गर्नु हुन्थ्यो तह परेर मात्र पर्दैन तह पारेर पर्छ। पहिलेको तह पार्ने भन्नेलाई अहिले हामी प्लानिंग गर्ने भन्छौ।
अर्को क्ल़ाइन्ट जोडी हुनुहुन्छ उहाहरु उमेरमा हाराहारी ७३, ( उहाहरु बारे डिटेलमा नजाऊ ) सम्पतिको टोटल प्रोटफोलिओ २.५ मिलियन अस्ट्रेलियन डलर जति मात्रै होला,बस्ने ठिक्कको घर छ, घर पछाडी ग्र्यानी फ्ल्याट, रेन्टल प्रोपर्टीहरु , शेअर्स अनि केहि क्यास गरि राम्ररी डिभर्सिफाईड गरेर लगानी गर्नु भएको रहेछ। क्यासफ्लो र प्यासिभ आम्दानी मनज्ञ छ।
माथिका यी दुइ जोडी क्ल़ाइन्टहरुको रिटायरमेन्ट लाईफ तुलना गर्दा पहिलोको सम्पतिको प्रोटफोलियो ठुलो हुदाहुदै पनि क्यासफ्लो र प्यासिभ आम्दानीको मामलामा ब्यबस्थित गर्न नसकेकोले सम्पति भएर पनि अभाबको जिन्दगी बाच्नु परेको छ तर दोस्रो क्ल़ाइन्टले तुलात्मक रुपमा कम सम्पतिलाई राम्रो संग म्यानेज गरेकाले मजाले सम्पन्नताको जीबन बिताईरहेका छन।
सिक्नु पर्ने कुरा के छ भने सुरुदेखि नै एउटा टार्गेट राखेर प्यासिभ आम्दानीका स्रोतहरु ब्युल्टअप गर्दै जानु राम्रो हुन्छ किनकी प्यासिभ आम्दानीका स्रोतहरु ब्युल्टअप गर्ने भनेको ओभरनाइट हुनेकुराहोइन लामो समय लाग्न सक्छ। जब बुढेसकालमा प्रवेश गरिन्छ बैंकले लोन पत्याउन छोड्ने, शरिर कमजोर हुदै जाने, रोगले समाउदै जाने, छोराछोरी घरबाट बाहिर बस्नु पर्ने अबस्था सिर्जना हुने, उमेरको कारणले मनोबल गिर्दै जाने आदि आदि हुन सक्ने हुदा चाहेर पनि केहि गर्न नसक्ने अवस्था हुन सक्छ। त्यसकारण प्यासिभ आम्दानी गर्न सके त पहिलेदेखि भए झन राम्रो नभए बिसेष गरेर रिटायेरमेन्ट लाईफको लागि महत्वपूर्ण भएकोले समय मै ब्यबहारमा उतार्न सम्भबहुने प्लानिंग बनाएर क्यासफ्लोका भेहिकलहरु बनाउदै जानु राम्रो हुन्छ।
प्यासिभ आम्दानीका स्रोतहरु के के हुन सक्छन र कसरि ब्युल्टअप गर्ने त ?
प्यासिभ आम्दानी कहाँबाट आउछ र कसरि बनाउने बारे गणितीय फर्मुला लगाउन त सम्भब नहोला किनकी हरेक मान्छेको अवस्था, परिस्थिति फरक फरक हुन सक्छ तर सामान्यतया निम्न स्रोतहरुलाई लिन सकिन्छ
१ रेन्टल प्रोपर्टी:
भाडा आउने खालका केहि प्रोपर्टीहरु जोर्न सकियो भने जोरिएको प्रोपर्टीको आफ्नो भाउ पनि बढ्दै जाने र लगातार भाडा पनि आउने हुदा क्यासफ्लोको कमि भएन। आफ्नो हैसियतले भ्याउछ भने त जति खर्च गरे पनि भयो नत्र आफुबस्ने एउटै घरमा भएभरिको पैसा खनाउनु भन्दा आफु बस्ने ठिक्कको घर किन्ने अनि साना साना बरु टाढा तर रेन्ट आउने एकपछि अर्को प्रोपर्टीमा लगानी गर्दै प्रोटफोलियो बढाउदै जादा हुन्छ। भएभरको पैसा आफु बस्ने प्रोपर्टीमा मात्र केन्द्रित गर्दा क्यासफ्लोको अबसरहरु गुम्न सक्छन। नेपालको कुरा गर्ने हो भने त ब्याबहारिक के हुन्छ भन्दा पनि देखावटीको मनोरोगले ग्रस्त भएको पाईयो। गाउमा, भाडामा जाने सम्भाबना न्युन छ, २-३ जनाको परिवार छ तर घरचाही १०-१२ कोठा सम्मको बनाएको पाइयो। के चाही ब्यबहारिक हुन्थ्यो होला भने,अहिलेलाई ठिक्कको घर बनाएर बाकी पैसा केहि पनि गर्न नसके मुद्धतीमा ब्याजदर राम्रै रहेछ, सके सम्म अरु उत्पादनमुलक क्षेत्रमा लगानी वा बजारमा सानो भए पनि भाडा आउने प्रोपर्टीमा लगाएको भए क्यासफ्लोको सुरुवात हुन्थ्यो। झट्टहेर्दा हत्तेरी यति सानो पनि के कुरा गरेको होला जस्तो लाग्ला तर हरेककुराको सुरुवात सानो बाटै हुन्छ। भर्याङ्गको पनि पहेलो खुड्किलो तलै हुन्छ।
२.शेअर्सहरुको लगानीबाट आउने लाभाम्श :
शेअरको नाम लिने बित्तिकै आफै परेर वा कतैबाट सुनेर यो त जुवा हो शेअरमा पनि पैसा हाल्छन ? भन्ने बुझाई भएका मानिस हरु पनि भेटिन्छन। शेअरमा दुइटा पाटा हुन्छन एउटा शेअर ट्रेडिंग र अर्को शेअर इन्भेस्मेंट। प्रयाप्त पुंजी,ज्ञान, अनुभब र रिसर्च बिनाको शेअर ट्रेडिंग जुवा जस्तै पनि हुन सक्छ तर पर्याप्त रिसर्च गरेर राम्रो ब्लिउचिप्स कम्पनीहरु जसले फ्रयाङ्क लाभाम्श दिन्छन ति कम्पनिहरुको लिस्ट तयार गर्ने र लामो समयलाई टार्गेट गरि बिभिन्न सेक्टरको प्रोटफ़ोलियो बनाएर लगानी गरियो भने लामो अन्तरालमा शेअरको मुल्य पनि बढ्ने र बेला बेलामा कम्पनिले बाढ्ने लाभांश प्यासिभ आम्दानीको राम्रो स्रोत बन्न सक्छ। गएको ५० बर्षको तथ्यांक लाई हेर्ने हो भने प्रोपर्टीमा गरिएको लगानीको भन्दा पनि ब्लिउचिप्स कम्पनीका शेअर्सहरुको रिटर्न बढी देखिन्छ। यसको एउटा मात्र च्या लेन्ज भनेको राम्रो कम्पनिको शेअर छान्न सक्नु र लामो समय सम्म होल्ड गर्नको लागि धैर्य गर्न सक्ने खुबीको बिकाश गर्नु हो। शेअरमा गरिएको लगानीको अर्को राम्रो पक्ष भनेको आबस्यकता अनुसार तुरुन्त क्यासमा परिणत गर्न पाइयो जसले गर्दा ट्याक्स लाई पनि म्यानेज गर्न सकिन्छ। शेअरको प्रोटफोलियो बनाउदा कुनै एउटा बर्षमा एकैचोटी झ्याप्पै किन्छु भन्दा पनि लामो प्लान बनाएर हरेक वर्ष आफ्नो आम्दानीको ५%, १०% जति सकिन्छ लगानी गर्न सुरु गर्दा हुन्छ। बच्चाहरुलाई बचत गर्ने बानी बसाल्न पनि यो तरिका अपनाउन सकिन्छ, पछि उनिहरु प्रोपर्टीमा लगानी रेडीहुने बेला बेच्दा भयो। तर लगानी चाही ब्लिउ चिप्सहरुमा मात्र।
३.बैंकबाट आउने ब्याज :
आफु सग भएको बचत बैंकमा राखे बापत आउने ब्याज पनि प्यासिभ आम्दानीको स्रोत बन्न सक्छ।
४.बिजनेशबाट आउने नाफा :
उमेर छदै कुनै बिजनेसलाई पनि साइड बाई साइड हुर्काएर सेल्फ रनिङ्ग गराउन सकियो भने त्यसबाट आउने नाफा वा कुनै राम्रो बिजनेशमा स्लिपिङ्ग पार्टनरको रुपमा लगानी गर्ने अबसर आयो भने पनि त्यसबाट आउने रिटर्न पनि राम्रो स्रोत बन्न सक्छ
५.अन्य - जस्तै पेन्सन, यसमा पनि एज पेन्सन, सुपर पेन्सन, सुपरको पैसा - यस्को फेरि छुट्टै च्याप्टर बन्छ
शारांश :
भोलि के हुन्छ कसैलाई थाहा छैन। सधै भरि काममा जोतिन कसैलाई पनि मन हुदैन र सम्भव पनि हुदैन। सके चाडै नभए रिटायरमेन्टको उमेर सम्म फाईनान्सियल फ्रीडम होस र साथमा केही प्यासिभ आम्दानी पनि होस भन्ने सबैको चाहना हुन्छ।
फाईनान्सियल फ्रीडम अनि प्यासिभ आम्दानी लाई ब्यबस्थित गर्ने भनेको छोटो समयमा ओभरनाइटमै सम्भब हुने कुरा होइन।यो भनेको लामो समयमा एक पछि अर्को गर्दै ब्युल्टअप गर्दै जाने हो। फाईदा,बेफाइदा च्यालेंजहरु सबैतिर हुन्छन। माथि उल्लेख गरिएका सबै अप्सनहरु सबैलाई उपयुक्त हुन्छन भन्ने पनि छैन र सबै गर्नै पर्छ भन्ने पनि छैन तर केहि नगरी केहि हुदैन भने जस्तै केहि हुनको लागि कहिँ न कहिँ बाट शुरु गर्न पर्छ नै। २०२४ बाटै सके धेरै गर्दाभयो केहि नै गर्न सकियन भने पनि सबभन्दा राम्रो कम्पनि छानेर १० बटा मात्रै शेअर बाट सुरु गरौ, बर्षै पिच्छे अरु राम्रो कम्पनिको मात्र थप्दै जाऊँ, थप्दै जाऊँ अनि होल्ड गरौं,नबेचौ, अनि १५, २० बर्षपछि मात्र २०२४ को सुरुवात लाई संझौ !
नोट: माथिका कुराहरु संग थुप्रै ट्याक्स र कानुनी कुराहरु जोडिएका हुनसक्छन त्यसकारण आफुले गर्न सक्ने रिसर्च आफुले गर्ने नसकेको सम्भन्धित प्रोफेसनल संग सम्पर्क गरेर सुजबुजका साथ अगाडी बढ्दा राम्रो हुन्छ।