08/07/2026
यस्तो सपना कसैले नदेखोस्… तर आशा कहिल्यै नमरोस्।
केही दिनअघि एकजना साथीले अनौठो सपना देखेछन्। सपनामा एक अपरिचित व्यक्ति आएर भन्यो, “तेरो शेयरमा गरेको लगानी खरानी होस्।” यति भन्दै ऊ हरायो। साथी झसङ्ग ब्युँझिए। त्यो सपना किन आयो होला भनेर धेरै दिनसम्म सोचिरहे।
आज फेरि बजार बन्द भएपछि चिया पसलमा भेट भयो। उनी मुस्कुराउने प्रयास गर्दै भने, “सपना त सपनै होला भन्ने लागेको थियो, तर बजारको निरन्तर गिरावटले जीवनभरको मेहनतले कमाएको सम्पत्तिको मूल्य निकै घटाइदियो।”
केही क्षण हामी दुवै मौन भयौँ। त्यसपछि मैले शान्त स्वरमा भनेँ—
“शेयर बजारमा मूल्य (Price) घट्न सक्छ, तर आफ्नो शेयरको संख्या (Quantity) घट्दैन। यदि तपाईंले राम्रो कम्पनीमा लगानी गर्नुभएको छ भने समयसँगै बोनस शेयर, लाभांश (Dividend) वा अन्य कर्पोरेट सुविधामार्फत तपाईंको Quantity अझ बढ्न पनि सक्छ। त्यसैले बजारको अस्थायी मूल्यलाई अन्तिम सत्य ठान्नु हुँदैन।”
मैले थपेँ—
“विश्वका विकसित पूँजी बजारहरू पनि एकै दिनमा परिपक्व बनेका होइनन्। इतिहासमा ठूला आर्थिक संकट, वित्तीय घोटाला, बजार ध्वस्त भएका घटना र करोडौँ लगानीकर्ताले ठूलो क्षति बेहोरेका उदाहरण प्रशस्तै छन्। तर ती प्रत्येक संकटबाट पाठ सिक्दै सम्बन्धित देशहरूले आफ्नो प्रणाली सुधार गरे, कानुन र नीति–नियमलाई समयानुकूल बनाए, नियमनलाई अझ प्रभावकारी बनाए र लगानीकर्ताको विश्वास पुनःस्थापित गर्न सफल भए।
नेपालको पूँजी बजार पनि त्यही परिवर्तन र परिपक्वताको यात्रामा छ। कमजोरीहरूलाई सुधार्दै प्रविधि, नियामक व्यवस्था, नीति–नियम र बजार संरचनामा क्रमिक सुधार भइरहेको छ। परिवर्तन रातारात हुँदैन, तर सही दिशामा अघि बढ्नु नै सकारात्मक संकेत हो।”
उनी ध्यान दिएर सुनिरहेका थिए।
मैले फेरि भनेँ, “सम्पत्ति फेरि बनाउन सकिन्छ, तर आत्मविश्वास गुमाउनु हुँदैन। मूल्य घट्दा डर होइन, विवेकले निर्णय गर्नुपर्छ। बजारको उतारचढाव अस्थायी हुन्छ, तर सही ज्ञान, धैर्य र दीर्घकालीन दृष्टिकोणले भविष्य निर्माण गर्छ।”
उनको अनुहारमा विस्तारै हल्का मुस्कान देखापर्यो। सबै समस्या समाधान भइसकेका थिएनन्, तर एउटा कुरा स्पष्ट थियो—उहाँसँग अझै शेयरको Quantity पनि थियो, अनुभव पनि थियो, र सबैभन्दा ठूलो कुरा, आशा पनि बाँकी थियो।
जीवनले कहिलेकाहीँ हाम्रो धैर्यको कठोर परीक्षा लिन्छ। तर प्रत्येक अँध्यारो रातपछि उज्यालो बिहान अवश्य आउँछ। हरेक चुनौतीसँगै सुधारको अवसर पनि आउँछ। आजका कमजोरीहरू नै भोलिको बलियो, पारदर्शी र विश्वासयोग्य पूँजी बजार निर्माणका आधार बन्न सक्छन्।
त्यसैले निराशाभन्दा धैर्य रोजौँ, हल्लाभन्दा अध्ययन गरौँ, डरभन्दा विवेकलाई प्राथमिकता दिऔँ। किनकि शेयर बजारमा मूल्य घट्न सक्छ, तर राम्रो कम्पनीप्रतिको विश्वास, शेयरको Quantity र उज्ज्वल भविष्यप्रतिको आशा कहिल्यै घट्नु हुँदैन।
धन्यवाद। 🙏