08/10/2024
महिषासुरको कथा
परापूर्वकालमा राक्षसहरुको स्वामी महिषासुर नामको दैत्यले घोर तपस्या गर्न लाग्यो हजार वर्षसम्म कठोर तपस्या गरेको देखेर ब्रह्माजी खुसी हुनुभयो र त्यस महिषासुरलाई दर्शन दिएर भन्नुभयो हे महिषासुर तिमीले गरेको तपस्यादेखि म खुशी छु के वरदान माग्छौ माग भन्नुभयो । ब्रह्माजीको यस्तो कुरा सुनेर महिषासुर दैत्यले भन्यो हे ब्रह्माजी यदि तपाईं मदेखि खुशी हुनुहुन्छ र मलाई वरदान दिनुहुन्छ भने मलाई यस्तो वरदान दिनुहोस् कि म स्वर्ग, मत्य र पाताल तिनै लोकको राजा बन्न सकुँ र मलाई कसैले पनि मार्न नसकोस् म अजम्बर बन्न सकुँ । यस्तो वरदान माग्न लाग्यो ।
महिषासुरको कुरा सुनेर ब्रह्माजीले भन्नुभयो । जन्म र मृत्यु त सृष्टिको नियम हो । त्यसैले तिमीले अरु नै कुनै वरदान माग भन्नुभयो । तब त्यस राक्षसले भन्यो त्यसो हो भने मलाई स्वर्ग, मत्र्य र पातालको कुनै पनि पुरुषहरुले मार्न नसकुन्, म सबैभन्दा बलशाली बन्न सकुँ । तब ब्रह्माजीले तथास्तु भनी वरदान दिनुभयो । त्यसपछि महिषासुरले स्वर्ग, मत्य पाताल तिनै लोकमा आफ्नो प्रभुत्व जमाउन लाग्यो । स्वर्गका देवताहरुलाई मार्न थाल्यो । स्वर्गका राजा इन्द्रलाई पनि बन्दी बनाएर त्यहाँको सिंहासनमा बस्न लाग्यो । यसरी सबै देवताहरु पराजित भएपछि देवताहरु ब्रह्माजीको शरणमा गएर सबै वृतान्त सुनाउन लागे । तब ब्रह्माजीले भन्नुभयो यसको उपायका लागि श्री विष्णु र महादेवका शरणमा जानुपर्छ भन्नुभयो र ब्रह्मासहित सम्पूर्ण देवताहरु विष्णुजी भएका ठाउँमा गएर विष्णुसहित महादेव भएकेा ठाउँमा गए । त्यसपछि महिषासुरले गरेका सम्पूर्ण कर्तुत महादेवजीलाई सुनाएर भन्न लागे उस महिषासुरले सूर्य, इन्द्र, अग्नि, पवन, चन्द्रमा, यम वरुण तथा अन्य देवताहरुको अधिकार छिनेर स्वयम् राजा बनेर बसेको छ । हामी सबैलाई अत्यन्तै दुःख दिइरहेको छ । हामी सबैको उद्धार हजुरले गरी बक्सनुपर्छ प्रभु हाम्रो रक्षा गर्नुहोस् । महिषासुरको बधको कुनै उपाय सोच्नुहोस् प्रभु ।
यसप्रकार ब्रह्माजी देवताहरुको वचन सुनेर, भगवान विष्णु तथा शिवले दैत्यहरुमाथि बढो क्रोध गर्नुभयो । त्यसबखत श्री विष्णुका मुखबाट एउटा तेज निस्कियो यसै प्रकार शिवजीका मुखबाट अर्को तेज प्रकट भयो, ब्रह्माका मुखबाट पनि तेज निस्कियो । यसरी सम्पूर्ण देवताहरुका शरीरबाट तेज निस्कियो र आकाशतर्फ गयो पछि एकै ठाउँमा मिलेर भयङ्कर रुप लियो सम्पूर्ण चराचर जगत जाजल्यमान हुन लाग्यो । देख्दादेख्दै त्यो शक्तिपुञ्जले नारीको रुप लियो । भगवान शंकरजीका तेजबाट मुख बन्यो । श्री विष्णु भगवानका तेजबाट हातहरु बने । यमराजका तेजबाट शिरका कपाल बने । चन्द्रमाका तेजले दुवै स्तन, इन्द्रका तेजले शरीरको मध्य भाग बने वरुणका तेजबाट तिघ्रा र पिडुल्ला बने पृथ्वीका तेजले नितम्ब भाग, ब्रह्माको तेजबाट दुवै चरण बने, सूर्यका तेजबाट हातका औंला बने, कुवेरका तेजबाट नसाहरु बने । यसै प्रकारबाट प्रजापतिका तेजबाट दाँतहरु बने, अग्निका तेजबाट तिन नेत्र प्रकट भए ।
यसरी सम्पूर्ण देवताहरुका तेजबाट शरीरका विभिन्न अङ्गहरु उत्पन्न भए । यसप्रकारबाट प्रकट भएकी कल्याणकारी भगवती देवी दुर्गा कहलाइन् । देवताहरु बहुत प्रशन्न भए अनि शंकरजीले एउटा शुल निकालेर देवीजीलाई दिनुभयो । विष्णुले चक्र दिनुभयो । वरुणले शङ्ख, अग्निले शक्ति, वायुले धनुष तथा वाणले भरेको धनुकाण दिए इन्द्रजीले वज्र उत्पन्न गरेर बज्र प्रदान गर्नुभयो इरावतहातीले घण्ट दिए । प्रजापतिजीले स्फटिक माला प्रदान गरे । विश्वकर्माले फर्सा दिए । हिमालयले सवारीका लागि सिंह तथा अनेक रत्नहरु दिए यसप्रकारले सम्पूर्ण देवताहरुले देवीजीलाई आभुषण अस्त्र शस्त्र आदि दिएर देवीजीको सम्मान गरे । तत्पश्चात् देवीजीले भयङ्कर स्वरुप लिएर गर्जना गर्नुभयो । त्यो स्वरुपलाई देखेर तिनै लोक काम्न थाल्यो अनि देवीले भन्नुभयो ब्रह्मा विष्णु महेशसहित सम्पूर्ण देवताहरुलाई किन मलाई प्रकट गर्नुभयो ? तब सम्पूर्ण देवताहरुले प्रार्थना गर्दै भने महिषासुर नामको दैत्यले हामी सबैलाई अत्यन्तै दुःख दियो उसको वध गरी हाम्रो रक्षा गर्नुहोस् यसरी बारम्बार प्रार्थना गरेर देवताहरुले देवीजीको स्तुति गरे । पछि देवी भगवती र दैत्यहरुसँग भयङ्कर युद्ध भयो । सम्पूर्ण दैत्यहरु तथा महिषासुरलाई देवीजीले संहार गर्नुभयो र सम्पूर्ण चराचर जगतको रक्षा गर्नुभयो ।
आश्विन शुक्ल दशमीमा देवीजीले दैत्यहरु माथि विजय प्राप्त गर्नुभएकोले विजयादशमी मनाउन लागिएको हो भन्ने धार्मिक परम्परा छ । आसुरी शक्तिको पराजय गर्नु र सुख शान्ति कल्याणको कामना गर्दै उनै भगवती देवीजीको शरणमा गई विधिपूर्वक पूजा आराधना गर्नाले अवश्य पनि देवीजी प्रशन्न हुनुहुनेछ । सबैलाई आशिर्वाद दिनुहुनेछ । नवरात्रको समयमा विभिन्न यन्त्र रत्नहरुको प्राण प्रतिष्ठा तथा जागृत गराई धारण तथा पूजन् गर्नाले दुःख दरिद्र तथा रोगव्याधि आदिले सताउने छैन ।