Vijay & Associates

Vijay & Associates नेपालको कर कानुनबारे जानकारीमूलक सामग्रीहरू ।

12/08/2024

शुभ प्रभात 🧘,

🤔 रोजगारी आम्दानीमात्र भएका व्यक्तिले कर चुक्ता कसरी निकाल्ने ?

✅ सो वर्षमा नेपालमा स्रोत भएको रोजगारीको आय मात्र भएको, एकपटकमा एउटा मात्र रोजगारदाता भएको, सबै रोजगारदाता बासिन्दा व्यक्ति भएको र सो वर्षमा रोजगारदाताले भुक्तानी गरिदिएको अवकाश योगदान बाहेक अन्य खर्च घटाउन वा रोजगारदाताले भुक्तानी गरेको औषधि उपचार खर्च बापतको कर मिलान बाहेक अन्य कर मिलान दाबी दाबी नगरेको व्यक्तिले आय विवरण बुझाउनु पर्दैन ।

✅ माथि उल्लेखित सबै अवस्थाहरू पूरा नभएको रोजगारी आम्दानी हुने व्यक्तिले आय विवरण दाखिला गर्नुपर्दछ ।

✅ रोजगारी र व्यवसाय दुवैको आम्दानी छ भने दुवै आम्दानीको विवरण खुलाई आय विवरण दाखिला गर्नुपर्दछ।

✅ आय विवरण पेश गर्नु नपर्ने रोजगारीबाट आम्दानी भएका व्यक्तिले आफ्नो वार्षिक आम्दानी, कर गणना, तथा टिडिएस गरेको रकम खुल्ने पत्र रोजगारदाता बाट लिई कार्यालयमा पेश गर्नुपर्दछ।

✅ सो पत्रको साथ कार्यालयले तोकेको ढाँचामा आम्दानी र कट्टी दाबी गरिएका खर्चहरू खुल्ने कर गणना सहितको विवरण खुलाई कर चुक्ताका लागि निवेदन पेश गर्नुपर्दछ।

✅ कर चुक्ता प्रमाणपत्र लिनका लागि कार्यालयमा स्वयं आफै उपस्थित हुन नसकेमा कर चुक्ता बुझ्न जाने व्यक्तिलाइ अख्तियारी दिएको पत्र समेत निवेदन साथ संलग्न हुनुपर्दछ।

✅ निवेदन साथ इटिडिएस गरेको प्रमाण, कट्टी दाबी गरिएका बिमा, अवकाश कोष योगदान लगायत खर्चहरू तिरेको प्रमाण समेत संलग्न हुनुपर्दछ।

✅ पेश गरेको हिसाब गणितीय त्रुटिरहित छ र पुरानो कुनै बक्यौता छैन भने कर अधिकृतले कर चुक्ता प्रमाणपत्र प्रदान गर्दछ ।

✅ रोजगारी सँगसँगै गैर व्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा घरजग्गा र सेयर) बिक्री बाट आम्दानी छ भने त्यस्ता व्यक्तिहरूले आय विवरण दाखिला गर्नुपर्दछ। (यसले तपाईंको कर दायित्व वृद्धि हुँदैन)

✅ माथिका बुँदाहरूमा जुनसुकै कुरा लेखिएको भए तापनि वार्षिक ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक आय हुने व्यक्तिले भने डे४ फारम भरि आय विवरण दाखिला गर्नुपर्दछ।

📞 थप जानकारीका लागि हाम्रो कार्यालय, आफ्नो कर परामर्शदाता वा नजिकैको करदाता सेवा कार्यालय / आन्तरिक राजस्व कार्यालयमा सम्पर्क राख्नुहोला।

10/08/2024

🤔२०८१ असार तथा चौमासिक तेस्रोको भ्याट विवरण दाखिला गरियो, अब के गर्ने ?

🌀वर्षभरिको कारोबार जोड्नुहोस्, यदि तपाईंको कारोबार थ्रेसहोल्ड रकमभन्दा कम छ, तुरुन्तै बढी हाल्ने अवस्था छैन र भ्याटमा दर्ता भएको कारणले गर्दा तपाईँको अनावश्यक लागत बढिरहेको छ भने भने भ्याटको दर्ता खारेजीका लागि प्रक्रिया अगाडि बढाउनुहोस ।

🌀आय विवरण दाखिला गर्नका लागि नआत्तिनुहोस, आय विवरण पेश गर्ने म्याद असोज मसान्तसम्म हुन्छ, उक्त अवधिभित्र पनि पेश गर्न नसकेमा थप ३ महिनाका लागि म्याद थपको निवेदन दिन सकिन्छ। त्यसैले आफूले राखेको अभिलेख पुन: रुजु गर्नुहोस, यकिन गर्नुहोस, सल्लाह लिनुहोस र ढुक्क भएर मात्र आय विवरण दाखिला गर्नुहोस्।

🌀कतिपय व्यवसायीमा अन्तशुल्कको इजाजत पत्र नवीकरण गर्नका लागि आय विवरण दाखिला गर्नैपर्छ भन्ने भ्रम देखिन्छ, अन्तशुल्कको इजाजतपत्र नवीकरण गर्ने र आय विवरण दाखिला गर्ने दुई फरक विषय हुन, अन्तशुल्क इजाजतपत्र नवीकरण गर्नका लागि आय विवरण पनि दाखिला गर्नैपर्छ भन्ने आवश्यक पर्दैन, त्यसैले आय विवरण दाखिला गर्न हतार नगर्नुहोस्।

🌀आफूले खरिद तथा बिक्री गरेका सम्पूर्ण पार्टीहरू(१ लाखभन्दा कम कारोबार भएका समेत) को लिस्ट तयार गरी कारोबार तथा ब्यालेन्स रकम कन्फर्म गर्नुहोस ।

🌀यदि तपाईंको वार्षिक कारोबार १ करोडभन्दा कम छ भने निकाय बाहेकका व्यवसायले लेखा परीक्षक बाट वित्तीय विवरण प्रमाणित गर्न आवश्यक पर्दैन, लेखा सम्बन्धी जानकार व्यक्तिबाट सल्लाह लिएर वित्तीय विवरण आफै प्रमाणित गरी दाखिला गर्न सकिन्छ।

🌀 यस वर्ष देखि वित्तीय विवरण तयार पार्ने हरेक व्यवसायले नेपाल लेखामान बमोजिम तयार पार्नुपर्ने भएकाले यस विषयमा आफ्नो वित्तीय परामर्शदाता आफ्नो व्यवसायलाई लागु हुने लेखामान, सोको प्रभाव, आवश्यक कागजात र सूचना बारे अनिवार्य छलफल गर्नुहोस ।

🌀२०८१ श्रावण महिनादेखि मासिक रु. २५००० भन्दा बढी तलब भएका कर्मचारीको बैंक खातामा नै तलब जम्मा गर्नुपर्ने हुन्छ, अत: कर्मचारीको बैंक खाता विवरण लिनुहोला ।

🌀विगतका आर्थिक वर्षहरूको पनि आय विवरण दाखिला गर्नुभएको छैन भने २०८१ फागुन मसान्तभित्र आय विवरण दाखिला गरी लाग्ने आयकर र ब्याज रकमको २५% रकम बुझाएमा बाँकी ब्याज रकम र शुल्क मिनाहा हुने भएकाले यथाशीघ्र गत आर्थिक वर्षहरूको आय विवरण समेत दाखिला गर्नुहोला ।

📞 थप जानकारीका लागि हाम्रो कार्यालय अथवा नजिकैको करदाता सेवा कार्यालय/ आन्तरिक राजस्व कार्यालय मा सम्पर्क राख्नुहोला ।

सम्पूर्ण सेवाग्राहीहरूमा नमस्ते 🙏, आज २०८१ अषाढ महिना तथा चौमासिक तेस्रो को भ्याट विवरण हाल्ने अन्तिम दिन । गत वर्षका सम...
09/08/2024

सम्पूर्ण सेवाग्राहीहरूमा नमस्ते 🙏,

आज २०८१ अषाढ महिना तथा चौमासिक तेस्रो को भ्याट विवरण हाल्ने अन्तिम दिन । गत वर्षका सम्पूर्ण खरिद बिक्री बिल तथा खाताहरू रुजु गरेर मात्र विवरण हाल्नुहोला । यदि रुजु नगरेर विवरण प्रविष्टि गरिदिनुभयो सो आर्थिक वर्षको लेखा परीक्षण गराउँदा विभिन्न समस्याहरू आउने सम्भावना रहन्छ, धन्यवाद ।

साथै अन्तशुल्कको इजाजत प्राप्त व्यवसायले उक्त इजाजतपत्र नवीकरण गराउने अवधि जम्मा ७ दिन मात्र बाँकी रहेकोले यथाशीघ्र नवीकरण गराई शुल्क तथा जरिवानाबाट बच्नुहोला।

08/08/2024

🚦२०८१ असार वा चौमासिक तेस्रोको भ्याट विवरण हाल्ने तयारीमा हुनुहुन्छ, यदि हुनुहुन्छ भने पर्खनुहोस, बिवरण दाखिला गर्नुपुर्व तल उल्लेखित विषयहरू ध्यान दिनुस् है:

📚 खरिद बिल, बिक्री बिल, डेविड नोट, क्रेडिट नोट बमोजिम खरिद खाता, बिक्री खाता र स्टक बुक रुजु गर्नुभयो त ? यदि गर्नुभएको छैन भने अझै समय छ सरसर्ती गर्नुहोस्।

🔣 रुजु गर्दा प्रत्येक महिनाको खाताको जोड फरक परेको नपरेको, सबै खरिद बिल, बिक्री बिल, डेबिट नोट र क्रेडिट नोट खातामा चढाए नचढाएको विशेष ध्यान दिनुहोला ।

🧾गत आर्थिक वर्षमा कुनै पार्टीबाट सामान वा सेवा खरिद गरिएको तर बिल विजक प्राप्त नभइसकेको भए मगाएर प्रविष्टि गर्नुहोस् ।

✅ खाता रुजु भइसकेपछि सो खाता बमोजिम प्रत्येक महिना हालिएका भ्याट विवरणहरू मा उल्लेखित रकम मिले नमिलेको रुजु गर्नुहोस ।

💻यदि कुनै महिनामा खातामा भएको खरीद/ बिक्रीको जोड भन्दा भ्याट विवरणमा कम / बढी रकम प्रविष्टि गरिएको छ भने अहिलेको विवरण दाखिला गर्दा त्यति नै खरीद/ बिक्री रकम थप / घट गरी भ्याट विवरणमा चढाउनु होला । (अन्य थपघटमा हालेर नमिलाउनुहोला)

✍️कुनै खरिद बिल, बिक्री बिल, खरिद फिर्ता वा बिक्री फिर्ता बापतको डेबिट/ क्रेडिट नोट खातामा चढाउन छुटेको रहेछ भने अषाढ महिनामा नै खातामा चढाई विवरण हाल्नु होला। । (अन्य थपघटमा नहाल्नु होला)

🧮 यदि तपाईँ भ्याटमा दर्ता हुनुहुन्छ र करयोग्य र कर छुट दुवै कारोबार गर्नुहुन्छ भने समानुपातिक करकट्टी गणना बाट हुन आउने भ्याट रकमलाई अन्य थपघटमा समायोजन गर्नुपर्ने हुन्छ । (यस विषयमा आफ्नो कर परामर्शदाताको सल्लाह लिनुहोला।)

🚘 आंसिक करकट्टी गर्न पाइने बस्तुको खरीदमा पुरै करकट्टी लिनुभएको छ भने, त्यस्तो कट्टी गर्न नपाइने रकमलाइ अन्य थपघटमा डेबिट तर्फ समायोजन गर्नु पर्दछ। (यस विषयमा आफ्नो कर परामर्शदाताको सल्लाह लिनुहोला।)

👨‍💻 यदि तपाईँले गर्ने वस्तु वा सेवाको कारोबार कर योग्य बाट कर छुटमा परिणत भएको छ भने त्यस्ता वस्तु तथा सेवा खरिदमा तिरेको भ्याट रकम अन्य थपघटमा समायोजन गरी हिसाब मिलान गर्नुपर्ने हुन्छ । (यस विषयमा आफ्नो कर परामर्शदाताको सल्लाह लिनुहोला।

🏦 बैंकले ऋण रकमका लागि यति नै स्टक चाहिन्छ भनेको छ भन्दैमा आफुले बिक्री गरीसकेको स्टक समेत बीजक जारी नगरेर स्टकमा नराख्नु होला । वास्तविक स्टक र स्टक बुकमा भएको स्टक नमिल्दा भविष्यमा तपाईँलाई नै गाह्रो पर्न सक्छ । (थप जानकारीका लागी आफ्नो बित्तिय परामर्शदा संग सम्पर्क राख्नुहोला । )

😕 अषाढको महिनामा भ्याट तिर्नै पर्ने हुन्छ भन्ने कतिपय व्यवसायीलाई भ्रम हुन्छ, अतः वास्तविक स्टकमा भएको सामानको समेत झुठा विजक जारी गरेर स्टक घटाइरहेको देखिन्छ, त्यसो नगर्नुहोला, यसले समेत वास्तविक स्टक र स्टक बुकमा भएको स्टक नमिल्दा भविष्यमा तपाईँलाई नै गाह्रो पर्न सक्छ । वास्तविक स्टक जति छ त्यति नै स्टक बुकमा रहन दिनुहोला ।

⚠️अषाढ महिनामा बिषेशत: नक्कली बिल बिजकको चलखेल बढि हुने भएकाले मुख्यतया यस महिनामा खरीद भएका बिजकमा बिक्रेताको पान नं. सहि भए नभएको, बिलको सिरियल नं. सही भएको नभएको, सामान खरीदका हकमा भिसिटिएस भए नभएको, भुक्तानी भएको हकमा सम्बन्धित ब्यावसायकै खातामा रकम जम्मा भए नभएको जस्ता बिषय रुजु गर्नुहोला । नक्कली बिल बिजक लिने दिने दुबै सजायका भागीदार हुन्छन ।

🤵 यी सबै सामान्यतया सबै व्यवसायहरूलाई लागू हुने विषयहरु हुन । व्यवसायको प्रकृतिका हिसाबले खातापाता रुजु गर्दा तथा विवरण दाखिला गर्दा अन्य विषयहरूमा पनि ध्यान दिनुपर्ने हुन सक्दछ। त्यसैले आफ्नो कर परामर्शदाता सँग सल्लाह लिएर मात्र भ्याट विवरण दाखिला गर्नुहोला।

🤦‍♂️बिग्रीसकेपछि पछुताउनु भन्दा सबै कुरा आफ्नो हातमा भएको बेलामै गर्नुपर्ने समायोजन गरी मिलाउँदा राम्रो हुन्छ । माथि उल्लेखित विषयहरू मा गल्ती देखिएमा कर अधिकृतले कर रकम तथा जरिवाना निर्धारण गर्न सक्दछ।

❗ अन्तशुल्कको इजाजतपत्र नवीकरण गर्ने म्याद अब आठ दिन मात्रै बाँकी रहेकाले, यथाशीघ्र नवीकरण गराउनुहोला ।

🤙 थप जानकारीका लागि हाम्रो कार्यालय, नजिकैको करदाता सेवा कार्यालय वा आन्तरिक राजस्व कार्यालयमा सम्पर्क राख्नुहोला ।

04/08/2024

सम्पूर्ण सेवाग्राहीहरूमा नमस्ते,
अषाढ महिना र चौमासिक तेस्रोको भ्याट विवरण हाल्ने दिन अब पाँच दिन मात्र बाँकी भएकाले गत आर्थिक वर्षका सम्पूर्ण खरिद तथा बिक्री विजकहरू, खरिद बिक्री खाता र गतवर्षका सम्पूर्ण भ्याट विवरणहरू रुजु गर्नुहोला ।

01/08/2024
29/07/2024

28/07/2024

शुभ प्रभात ‌🧘,

🏗️ व्यावसायिक प्रयोजनका लागि भवन या यस्तै प्रकृतिको स्थायी संरचना बनाउँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने निम्नलिखित कुराहरू याद गर्नुहोस् है:

१. व्यावसायिक प्रयोजनका लागि ५० लाखभन्दा बढीको भवन, shopping कम्प्लेक्स, सडक, पुल, रङ्गशाला, विद्युत उत्पादन गृह र यस्तै प्रकृतिका स्थायी संरचना निर्माण गर्दा भ्याटमा दर्ता भएको ठेकेदार सँग मात्र गराउनुपर्दछ।

२. यो व्यवस्था भ्याटमा दर्ता भएका वा नभएका व्यावसायिक प्रयोजनका लागि रु ५० लाखभन्दा बढीको स्थायी संरचना निर्माण गरी बिक्री गर्ने वा स्थायी सम्पत्ति (Fixed Assets) को रुपमा लेखाङ्कन गर्ने सबै व्यवसाय लागि लागू हुन्छ।

३. रिभर्स भ्याट गणना गर्ने प्रयोजनका लागि यस्ता सम्पत्तिहरू जति वर्ष लगाएर निर्माण भएको भए तापनि एकै स्थानमा निर्माण भएको हुनुपर्दछ, तर आवास गृह, पुल, सडक जस्ता संरचनाहरू फरक फरक स्थान( जस्तै शाखा कार्यालय, मुख्य कार्यालय, उद्योग क्षेत्र, गोदाम क्षेत्र आदि जहाँसुकै) मा निर्माण भएता पनि समग्रमा रु ५० लाखभन्दा बढी हुन्छ भने यो व्यवस्था लागु हुन्छ।

४. संरचना निर्माणमा लागेको वित्तीय खर्च (Financial Expenses) बाहेकका अन्य सम्पूर्ण खर्चहरू (जस्तै: नक्साङ्कन, डिजाइन निर्माण, सुपरिवेक्षण, विद्युतीकरण, सेनिटेसन, रंगरोगन, आन्तरिक सजावट आदि ) समेत ५० लाख रकम गणना गर्ने प्रयोजनका लागि जोड्नु पर्दछ।

५. यदि बुँदा नम्बर ४ मा उल्लेखित सम्पूर्ण खर्चहरू जोड्दा सम्पत्तिको लागत रु ५० लाखभन्दा बढी हुन्छ भने सम्पत्तिको करयोग्य मूल्य गणना गर्ने प्रयोजनका लागि सम्पत्ति निर्माण पूर्व गरिने खर्चहरू (जस्तै: जग्गा खरिद, जग्गाको स्तर उन्नति, नक्साङ्कन, नक्सा स्वीकृत गर्न लाग्ने खर्च, वित्तीय लागत, तेस्रो पक्षलाई भुक्तानी गर्न लागेको सुपरिवेक्षण खर्च आदि) समावेश नगरी भ्याट लाग्ने र नलाग्ने अन्य सम्पूर्ण खर्चहरू समावेश गर्नुपर्दछ।

६. बुँदा नम्बर ५ बमोजिम गणना भएको करयोग्य मूल्यको १३ प्रतिशतले हुने भ्याट रकमबाट आफूले उक्त सम्पत्ति निर्माणका लागि खरिद गरेका सम्पूर्ण वस्तु तथा सेवा (निर्माणका लागि चाहिने सामान, ‌ ज्याला, ‌ सेवा ‌ आदि) मा तिरेको भ्याट रकम घटाई बाँकी रकम रिभर्स भ्याट बापत दाखिला गर्नुपर्दछ।

७. रिभर्स भ्याट बापतको रकम राजस्व शीर्षक नम्बर ३३३१७ मा दाखिला गर्नुपर्दछ।

८. यसरी भ्याट बिल नभए बापत तिरेको रिभर्स भ्याट रकम कट्टी गर्न पाइँदैन, सम्बन्धित सम्पत्तिकै मूल्यमा पुँजीकृत गर्नुपर्दछ । तर भ्याट बिल भएका खर्च भने भ्याटमा दर्ता भएको व्यवसायले खरिद खातामा प्रविष्टि गरी कट्टी गर्न पाउँछ।

९. भ्याटमा दर्ता नभएका व्यवसायीको हकमा खरिदमा तिरेको भ्याट र रिभर्स चार्ज वापत तिरेको सम्पूर्ण भ्याट रकम सम्बन्धित सम्पत्तिकै मूल्यमा पुजीकृत गर्नुपर्दछ।

१०. यस्तो रिभर्स भ्याट बापतको रकम सम्बन्धित महिना सकिएको २५ दिनभित्र दाखिला गरिसक्नु पर्दछ।

११. व्यावसायिक भवन अब यस्तै स्थायी प्रकृतिका संरचना भाडामा लिएर सञ्चालन गर्नेका लागि यो व्यवस्था लागु हुँदैन ।

१२. यसो नगरेको पाइएमा कर अधिकृतले कम दाखिला गरेको कर रकमको २५% रकम जरिवाना गर्न सक्दछ, साथमा ब्याज र थपदस्तुर समेत तिर्नुपर्ने हुन्छ।

⚠️ तपाईँले निर्माण गरेको वा गर्न लागेको स्थायी संरचना (जस्तै: विद्यालयका लागि स्कुल भवन, फ्याक्ट्रीका लागि फ्याक्ट्री भवन, गोदाम, कार्यालय भवन, सडक, पुल, गार्ड भवन, पशुपन्छी पालन गर्ने खोर, हस्पिटलका लागि भवन आदि) को लागत ५० लाखभन्दा बढी छ भने एकपटक आफ्नो कर परामर्शदाता लाई सम्पर्क राख्नुहोला । विगतमा निर्माण गरेको वा सम्बन्धित आर्थिक वर्षमा निर्माण गरेको जुनसुकै अवस्थामा पनि कर अधिकृतले पूर्णकर लेखा परीक्षणका बखत यो विषय अनिवार्य जाँच गर्दछ ।

☎️थप जानकारीका लागि हाम्रो कार्यालय वा नजिकैको करदाता सेवा कार्यालय / आन्तरिक राजस्व कार्यालयमा सम्पर्क राख्नुहोला ।

26/07/2024

🧘‍♂शुभ प्रभात,

🚚 ढुवानी खर्चको स्रोतमा करकट्टी र लेखाङ्कन सम्बन्धमा

🥸 भ्याटमा दर्ता भएका वा नभएका सबै व्यवसायीले भ्याटमा दर्ता नभएको ढुवानी व्यवसायी वा व्यक्ति लाई ढुवानी साधनको भाडा वा ढुवानी बापतको रकम भुक्तानी गरेमा १३ प्रतिशतले रिभर्स भ्याट दाखिला गर्नुपर्दछ।

💸 भ्याटमा दर्ता भएको ढुवानी व्यवसायी वा व्यक्ति लाइ यस्तो रकम भुक्तानी गर्दा भ्याट बिल बाट नै भुक्तानी हुने भएकाले रिभर्स भ्याट दाखिला गर्नुपर्दैन ।

🛂 आयात गर्ने का हकमा भन्सार बिन्दु देखि गोदाम सम्म ल्याइपुर्याउन लागेको भाडा रकममा रिभर्स भ्याट दाखिला गर्नुपर्दछ, निकासी गर्नेका हकमा गोदामदेखि भन्सार विन्दु सम्म पुर्‍याउन लागेको भाडा रकममा रिभर्स भ्याट दाखिाला गर्नुपर्दैन ।

🏦 यस्तो रिभर्स भ्याट बापतको रकमलाई राजस्व शीर्षक नम्बर ३३३१७ मा महिना सकिएको २५ दिनभित्र सम्बन्धित राजश्व कार्यालयमा दाखिला गर्नुपर्दछ ।

📚 यसरी दाखिला गरिएको भ्याट रकमलाई खरिद खातामा करयोग्य खरिदमा तिरेको कर र भाडा रकमलाई करयोग्य खरिदको कोलममा चढाइ खरीदमा तिरेको भ्याट र भाडा खर्च दाबि गर्नुपर्दछ ।

✔️ प्यानमा मात्र दर्ता भएको व्यक्तिले यसरी रिभर्स भ्याट दाखिला गरेमा भ्याट सहितको सबै रकम आयकर प्रयोजनका लागि खर्चकट्टी गर्न पाउँछ।

🚫 समयमा उक्त भ्याट रकम दाखिला नगरेमा १५% ब्याज र १०% थप दस्तुर लाग्दछ ।

👴 भ्याटमा दर्ता भएको ब्यक्तीलाइ यस्तो रकम भुक्तानी गर्दा १.५% श्रोतमा कर कट्टि गर्नुपर्दछ । भ्याटमा दर्ता नभएकाको हकमा भने २.५% श्रोतमा कर कट्टि गर्नुपर्दछ ।

🏦 यसरी स्रोतमा करकट्टी गरिएको रकमलाई महिना सकिएको २५ दिनभित्र दाखिला गरी इटिडिएस समेत गर्नुपर्दछ।

👴 यसरी स्रोतमा करकट्टी गरिएको रकमलाई समयमा दाखिला नगरेमा १५% वार्षिक ब्याज लाग्दछ। समयमा इटिडिएस नगरेमा दाखिला गर्नुपर्ने टिडिएस रकमको बार्षिक २.५% शुल्क लाग्दछ ।

💡 बिल्टि तथा चलानहरु बिल होइनन अत: यस्ता कागजातको आधारमा आयकर प्रयोजनका लागी भाडा खर्च कट्टि गर्न पाइदैन, अत: रु. २०००/- भन्दा बढिको ढुवानी साधनको भाडा वा ढुवानी रकम भुक्तानी गर्दा अनिवार्य रुपमा प्यान नं. उल्लेख गरेको बिल लिनुहोला । ब्यावसाय दर्ता नगरेका ढुवानी साधन धनि लाइ यस्तो रकम भुक्तानी गरेमा अनिवार्य रुपले उक्त ब्यक्तिको ब्यक्तिगत प्यान नं. उल्लेख गरी भर्पाइ बनाउनुहोला ।

🤙थप जानकारीका लागि हाम्रो कार्यालयको सम्पर्क नम्बर ०९१५४०११४ वा नजिकैको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क राख्नुहोला।

25/07/2024

शुभ प्रभात 🧘,
सम्पूर्ण सेवाग्राहीहरूमा नमस्ते 🙏

🤔 मैले एकजना व्यवसायीलाई सामान उधारो दिएको थिएँ, तर अब उक्त उधारो रकम नउठ्ने नै भयो, यस्तो अवस्थामा उक्त खराब आसामी (bad debt) रकम आयकर तथा भ्याट प्रयोजनका लागि कट्टी गर्न पाइन्छ ?

👉 मूल्य अभिवृद्धि कर ऐनमा Bad Debt को व्यवस्था नै नभएकाले भ्याट रकम अलग्गै त कट्टी गर्न पाइँदैन, तर ऋणीको आर्थिक अवस्था, असुलीका लागि चालिएको कदम, जस्तै प्रहरी कारबाही, अवस्था हेरी अदालती कारबाही आदिबाट असुलीको लागि प्रयास गरेको हुनुपर्दछ, तत्पश्चात् समेत असुली हुन नसकेको खण्डमा मात्र यस्तो असुली गर्न बाँकी भ्याट सहितको जम्मा रकम आयकर प्रयोजनका लागि कट्टी गर्न पाइन्छ ।

🤔 अबदेखि सम्पूर्ण कर्मचारीहरूको तलब बैंक खाता मै हाल्नुपर्ने हो र ?

🏛️ वित्तीय पारदर्शिताका लागि आफ्नो सम्पूर्ण व्यवसायिक कारोबारहरू बैंकिङ च्यानलबाट गरेको राम्रो हो । आयकर ऐन बमोजिम मासिक रु २५ हजार भन्दा बढी तलब खाने कर्मचारीहरूको हकमा बैंक खातामा तलब जम्मा गर्नुपर्दछ, त्यसो नगरेमा सो खर्च आयकर प्रयोजनका लागि कट्टी गर्न पाइँदैन । मासिक रु २५ हजार भन्दा कम तलब खाने कर्मचारीका हकमा भने नगद भुक्तानी गरेको तलब पनि खर्च कट्टी गर्न पाइन्छ । स्थायी लेखा नम्बर भने जतिसुकै तलब खाने कर्मचारीको पनि अनिवार्य चाहिन्छ ।

🤔 मेरो खाद्यान्न खरिद बिक्री गर्ने व्यवसाय छ, जसमा ठूलो मात्रामा किसानहरू सँग खाद्यान्न खरिद गर्नुपर्ने हुन्छ, यस्तोमा किसानलाई रु ५० हजारभन्दा बढी नगद भुक्तानी गर्न नमिल्ने हो र ?

👨‍🌾 त्यसो होइन । सकेसम्म बैंक खाता बाटै भुक्तानी गर्दा राम्रो, तर नगदमा भुक्तानी गर्नैपर्ने अवस्था भएमा प्राथमिक कृषि पैदावार उत्पादन गर्ने कृषकलाई नगद भुक्तानी गर्दा भुक्तानीको सीमा लागु हुँदैन । त्यसैले यस्ता किसानहरू सँग खाद्यान्न हरू खरिद गर्दा जतिसुकै रकम पनि नगद भुक्तानी गर्न सकिन्छ ।

👨‍🌾किसानहरू सँग त बिल पनि हुँदैन, यस्तो अवस्थामा खरिद कसरी दाबी गर्ने ?
👉 स्थायी लेखा नम्बर उल्लेख नभएको २००० भन्दा बढीको बीजक बापतको खर्च कट्टी गर्न पाइँदैन, तर व्यावसायिक कारोबार नगर्ने प्राकृतिक व्यक्तिसँग सोझै गरिने कृषिजन्य, वनजन्य, पशुजन्य र अन्य घरायसी वस्तुको खरिदमा विक्रेताले प्यान नम्बर लिएको रहेनछ भने पनि त्यस्तो खरिद खर्च मान्य हुन्छ । त्यसैले किसानसँग खाद्यान्न खरिद गर्दा खरिद पत्र बनाई त्यसमा सम्बन्धित किसानको सही गराई खरिद गरिएको जतिसुकै रकमको पनि वास्तविक खरिद मान्य हुन्छ ।

🤔 मैले आफ्नो व्यक्तिगत सम्पत्ति बेच्दा पनि आयकर तिर्नुपर्छ र ?
🙅‍♂️ प्राकृतिक व्यक्तिको गैर व्यावसायिक करयोग्य सम्पत्ति (घर, जग्गा, सेयर) को बिक्री बाहेक व्यवसाय सँग सम्बन्ध नभएका निजी सम्पत्तिहरू जस्तै: फर्निचर, गहना, मोटर आदि बिक्री गर्दा भएको लाभमा आयकर तिर्नु पर्दैन ।

📞 थप जानकारीका लागि हाम्रो कार्यालय वा नजिकैको करदाता सेवा कार्यालय / आन्तरिक राजस्व कार्यालय मा सम्पर्क राख्नुहोला।

Address

Lamki Chuha 2
Lamki

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779858422328

Website

Alerts

Be the first to know and let us send you an email when Vijay & Associates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Vijay & Associates:

Share

Category